दफा ३०
निर्देशित क्षेत्रमा दूरसञ्चार सेवा विकास, विस्तार र संचालन गर्नु पर्ने
(१) दफा २४ को उपदफा (३) र (४) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो कुल लगानीको तोकिए बमोजिमको प्रतिशत ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनमा लगाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम विकास, विस्तार र संचालन गर्नु पर्ने ग्रामीण क्षेत्र अनुमतिपत्रमा तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएकोमा प्राधिकरणले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कुनै एक अनुमतिपत्र प्राप्त व्यक्तिले विकास, विस्तार र संचालन गर्नु पर्ने दूरसञ्चार सेवा आपसी सहमतिको आधारमा कुनै अर्को अनुमतिपत्र प्राप्त व्यक्तिले विकास, विस्तार र संचालन गर्न चाहेमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी अनुमति दिन सक्नेछ ।
(४) ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्राधिकरणले एक कोष खडा गर्नेछ र अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको वार्षिक आयको प्राधिकरणले तोके बमोजिमको रकम प्रत्येक वर्ष सो कोषमा जम्मा गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको कोषमा जम्मा भएको रकम प्राधिकरणले नेपाल सरकारको दूरसञ्चार सम्बन्धी नीतिको अधीनमा रही ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्रयोग गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम दूरसञ्चार सेवाको विकास, विस्तार र संचालन गर्नको लागि प्राधिकरणले कुनै अनुमतिपत्र प्राप्त व्यक्तिलाई तोक्न सक्नेछ र त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिले प्राधिकरणले तोके बमोजिमको ग्रामीण क्षेत्रमा दूरसञ्चारको विकास, विस्तार र संचालन गर्नु पर्नेछ ।